एसपीपी सम्झौता केपी ओली सरकारले कार्यान्वयन गरेको हो, अहिलेको प्रचार झुटो हो : प्रचण्ड


काठमाडौं, असार २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओली प्रधानमन्त्री हुँदा कार्यान्वयन गर्ने काम भएको दावी गरेका छन् ।
बिहीबार पेरिसडाँडामा आयोजित रितवहादुर खड्का स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा भएकाले सवैले बुझ्न जरुरी भएको बताए । ‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ’ प्रचण्डले भने ।
उनले गठबन्धन त्यस्तो कुरामा नजाने बताउदै अहिले फेरि कुनै न कुनै रुपले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत भइरहेको बताए । ‘हिजो आज एसपीपी सैन्य गठबन्धन भैसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुठो हो’, प्रचण्डले भने, ‘म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु ।’
उनले प्रधानमन्त्रीजीले पनि कुनै पनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिबद्धता जनाइसकेकाले कोही भ्रममा पर्न जरुरी नभएको बताए ।






















