पश्चिम् नवलपरासीको चिसापानी सामुदायिक वनद्वारा घर निर्माण गरि बिपन्न परिवारलाई हस्तान्तरण


रामु भुसाल
नवलपरासी । पश्चिम् नवलपरासीको चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–२ ले घर निमार्ण गरेर एक कार्यक्रमकाबीच चिसापानी निवासी एकल महिला कमला थापा (सुनार) लाई हस्तान्तरण गरेको छ ।
चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षता र डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा घर हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुप्ताले चिसापानी सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक उत्तरदायित्व र बार्षिक कार्य योजना अनुसार गरिबहरुका लागि आवास निमार्ण गर्ने कार्य निकै प्रसंसनिय रहेको बताए ।
उनले आगामी दिनमा समेत गरिब परिवारहरुको पहिचान गरेर आवास निर्माण गर्ने कार्यलाई निरन्तरता दिन आग्रह गरे । सोही अवसरमा बोल्दै विशेष अतिथी बर्दघाट नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष दया दर्लामीले आफ्ना नागरिकलाई सहयोग गर्न स्थानीय सरकारको जिम्मेवारी भएता पनि सामाजिक संघ सस्थाहरुले गरेको सहयोग प्रती धन्यवाद दिएका छन् । उनले सबैसँग सहकार्य गरेर सामाजिक कामका लागि आफू पनि अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सामुदायिक बनका अध्यक्ष गुरुङले सामुदायिक बन नाफामुखी नभई सेवामुखि हुनुपर्ने बताउदै यस बनले बिगत देखि नै आफ्ना उपभोक्ताहरुलाई स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको र यसलाई निरन्तरता दिने बताउनु भयो । सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष कमल परियार, परिवारका तर्फबाट कमला थापा (सुनार) लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा बर्दघाट सरावल सव डिभिजन बन कार्यलयका प्रमुख सहायक वन अधिकृत गिरीराज पन्त, वार्डका जनप्रतिनिधि, सामुदायिक बनका पदाधिकारी, संघ सस्थाका प्रतिनिधि, सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सामुदायिक वनले ४ लाख ५१ हजार रुपैया खर्च गरेर २ कोठे जस्तापाताले छाएको घर एकल महिला कमला थापा (सुनार)को लागि निमार्ण गरेको थियो ।
गत जेष्ठ १४ गते पानीसँगै आएको हावाहुरीले कमला थापा (सुनार)को घर उडाएपछि सुनारको परिवार नजिकैको सामाजिक भवनमा बस्दै आएका थिए । दुई साना छोरा र सासुआमा सहित बस्दै आएको झुपडि हावाहुरीले उडाईदिए पछि ३१ वार्षीय कमलाले घर बनाएर बस्न सक्ने अवस्था नभएको र उनका श्रीमान २०७७ साल फागुन १४ गते विदेशमा कामकै सिलसिलामा मृत्यु भएको थियो ।
श्रीमानको शव ल्याउन देखि आर्थिक सहयोग कार्यमा विभिन्न ब्यक्ती र संघ सस्थाबाट सहयोग प्राप्त भएको कमला सुनारले बताए । सामुदायिक वन समुहकी उपाध्यक्ष ईन्दु देवि चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन समुहका सचिव अनिल गुरुङ्गले गरेका थिए ।






















