देश

नेपाल आइपुग्यो फ्रान्स र इटालीले दिएको १३ लाख डोज खोप

जगत ठाडा मगर
२०७८ माघ १३ | बिहान ०८:१० बजे

काठमाडौं । कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप बुधबार नेपाल आइपुगेको छ।

फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेको छ।

खोप बुझ्दै मन्त्री खतिवडाले आवश्यकताको यो घडीमा फ्रान्स र इटालीले १३ लाख खोप सहयोग गरेकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट कृतज्ञता ज्ञापन गर्दै यो सहयोग नेपाल र युरोपेली सङ्घका सदस्य राष्ट्रहरूबीचको मैत्रीको उदाहरण रहेको बताए।

डेप्रेजले फ्रान्स र इटालीले दिएका यी खोप र यसअघि जर्मनीले प्रदान गरेका खोप नेपालसँगको इयूको मित्रताको प्रतीक रहेको र यसले कोभिडविरुद्ध विश्वव्यापी एकता र बहुपक्षीय समाधानका लागि इयूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए।

फ्रान्सले छ लाख ८५ हजार ४०० र इटालीले छ लाख ६३ हजार ६०० मात्रा खोप हस्तान्तरण गरेका हुन्। यसअघि जर्मनीले पठाएको ४१ लाख मात्रा खोपमा थपिएर यो इयू सदस्य राष्ट्रहरूले उपलब्ध गराएको खोपको सङ्ख्या ५४ लाख पुगेको छ।

कमेन्टहरु