राजनीति

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन मतदाता अनुपस्थित

जगत ठाडा मगर
२०७८ माघ १२ | मध्यान्ह ०३:१० बजे

विराटनगर, माघ १२ । प्रदेश नम्बर–१ मा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत भएको मतदानमा स्थानीय तहका दुई प्रतिनिधि र प्रदेशसभाका एक सदस्य अनुपस्थित भएका छन् ।

स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्यतर्फ ९१ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकाश्यप अधिकारीले जानकारी दिए । बुधबार विराटनगर बाली संरक्षण केन्द्र र प्रदेश निर्वाचन कार्यालयमा भएको मतदानमा झापाको गौरीगन्ज गाउँपालिकाका प्रमुख बाबुरामका श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भएका हुन् । श्रेष्ठ छोरीको विवाह र कार्की स्वास्थ्यसम्बन्धी समस्याका कारण मतदान गर्न नआएको स्रोतले जनाएको छ ।

प्रहरीको खोजी सूचीमा रहेकी नेकपा (एमाले)की सांसद गुलेफुन मिया पनि मतदान गर्न आइनन् । प्रदेश–१ बाट तीन राष्ट्रियसभा सदस्यका लागि आठ उमेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनका तर्फबाट खुलातर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई र अल्पसंख्यक वा अपांगता कोटातर्फ जनता समाजवादी पार्टी (जसपा)का हेमराज राई उमेदवार छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का तर्फबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा उमेदवार छन् । राप्रपाबाट अमर बिष्ट र रन्जु प्याकुरेल पनि चुनावी मैदानमा छन् ।

कमेन्टहरु