संविधानको मर्म अनुसार नै स्थानीय तहको निर्वाचन हुन्छ : सञ्चारमन्त्री


काठमाडौं, माघ १२ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको मर्म अनुसार नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री कार्कीले संविधान बमोजिम समयमै निर्वाचन हुने बताएका हुन् ।
लोकतन्त्रको मर्म, संविधानको भावना अनुसार मुलुकलाई अगाडि बढाउने विषयमा सरकार जानकार रहेकोसमेत उनले बताए । संविधान र कानुनमा केही अन्तरद्वन्द्व देखिए पनि सरकार संविधान र कानुन अनुसार नै अगाडि बढ्ने उनको भनाइ छ । जनताको सार्वभौम अधिकारलाई अक्षुण राख्दै जनताको भावना अनुसार निर्वाचन हुने मन्त्री कार्कीले प्रष्ट पारे ।
‘सरकारको तर्फबाट स्पष्ट गर्न चाहन्छु कि संविधानले गरेको व्यवस्था अनुसार नै स्थानीय सरकारको र प्रतिनिधिसभाको निर्वाचन गर्नेछौँ’, मन्त्री कार्कीले भने, ‘जनताको सार्वभौम अधिकारलाई अक्षुण राख्दै जनताको भावना अनुसार निर्वाचन सम्पन्न हुन्छ।’ सिंहदरबारले प्रदान गर्ने सेवा र सुविधा स्थानीय तहमा पुर्याउने परिकल्पना संविधानले गरेको भन्दै मन्त्री कार्कीले त्यसलाई प्रभावकारी बनाउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।
संविधान र कानुनमा केही अन्तरद्वन्द्व देखिए पनि संविधान अनुसार कानुनलाई मिलाएर अगाडि बढ्ने उनको भनाई छ । ‘संविधानले परिकल्पना गरे अनुसार स्थानीय निर्वाचन हुन्छ । संविधान र कानुनमा केही अन्तरद्वन्द्व देखिएकाले यसले केही दुविधा ल्याएको छ । केही दिन अघि बसेको पाँच दलीय उच्च राजनीतिक संयन्त्रमा कानुनविद्सँग परामर्श भएको छ’, मन्त्री कार्कीले भने, ‘संविधान र कानुनसँग बाँझिएको भए पनि संविधान बमोजिम कानुनलाई मिलाएर अगाडि बढाउने उहाँहरुको सल्लाह छ । यस बारेमा छलफल चलिराखेको छ।’
त्यस्तै अर्को प्रसंगमा मन्त्री कार्कीले संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभएर प्रमुख प्रतिपक्षी दलकोसमेत रहेको बताए । ‘संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र होइन, प्रमुख प्रतिपक्षी दलको पनि हो । राष्ट्रिय मुद्दालाई राजनीतिक विषयवस्तु बनाएर जनतामा भ्रम फैलाउनु हुँदैन’, मन्त्री कार्कीले भने, ‘आवधिक निर्वाचनको महत्वका विषयमा सरकार पूर्ण रुपमा विज्ञ रहेको कुरा यहाँहरुमार्फत् निवेदन गर्न चाहन्छु।’






















