तीनै तहकाे निर्वाचन एकै पटकमा गर्न सके राज्यलाई आर्थिक भार कम पर्छ : अध्यक्ष नेपाल


काठमाडौं, माघ १२ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटकमा गर्न सके राज्यलाई आर्थिक भार कम पर्ने बताएका छन् ।
बुधबार पार्टी कार्यालय शान्तिनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलबीच एकैपटक तीनवटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने निष्कर्ष निस्किएकाले विज्ञसँग विस्तृत छलफल गरिरहेको बताएका हुन् । ‘एकै चरणमा निर्वाचन गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ। त्यसका निम्ति हामी छलफल चलाइरहेका छौं ।’
उनका अनुसार एउटा चुनाव सम्पन्न गर्न झन्डै ५ अर्ब रुपैयाँ लाग्छ । यसअघि ५ चरणमा सम्पन्न चुनावमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको नेता नेपालले जानकारी दिए । उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधान र अन्य कानुनमा गरिएको व्यवस्थाअनुरूप सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनले जित्ने दाबी पनि गरे । १९ सिटकै जितले आगामी दिनमा हुने चुनावमा पनि तरंग पैदा गर्ने उनको दाबी छ । राष्ट्रिय सभाको निर्वाचन सातै प्रदेशमा जारी छ ।






















