जनमतका कार्यकर्ताद्वारा जनकपुरमा सरकारी गाडी तोडफोड, मेयर प्रसाई घाइते

जगत ठाडा मगर
२०७८ माघ १२ | बिहान ११:१० बजे

जनकपुरधाम, १२ माघ । जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् ।
गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल सवार थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै गर्दा उनीरुमाथि सिके राउतका कार्यर्ताहरुले आक्रामण गरेका हुन् । त्यही बेला सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ ।
जनमत पार्टीका कार्यकर्ताहरुले आज (बुधबार) बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । उनीहरु राष्ट्रिय सभा चुनावको मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।






















