Opens in a new tab

शिक्षा

परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ नगर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

जगत ठाडा मगर
२०७८ माघ ११ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा समयमै प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । त्रिविले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

मंगलबार अनुगमन गर्न बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय पुगेका मन्त्री पौडेलले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराएका थिए । मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको, तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पारे । ‘फास्ट ट्रयाक’ बाट भए पनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

‘जेसुकै तर्क गरे पनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ। कोसिस गरे पनि काम गर्ने जनशक्ति कम भएको हुँदा ढिलाइ भएको यहाँका कर्मचारीहरूले राख्नुभएको छ। तर, सेवाग्राहीले समयमा सेवा प्राप्त गर्नुपर्नेमा रिजल्ट ढिला भएको छ। मौजुदा अवस्थाबाट रिजल्ट छिटो निकाल्ने फास्ट ट्रयाकको तरिका अपनाउनुस् भनिएको छ। यसलाई सुधार्ने प्रसंगमा अर्को प्रणाली अपनाउँला, तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौँ,’ मन्त्री पौडेलले भने।

यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण समयमै परीक्षाको नतिजा प्रकाशित गर्न नसकिएको जवाफ मन्त्री पौडेललाई दिएका थिए । उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तर्गतको विद्यार्थीहरूको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताए ।

कमेन्टहरु