सरकार जनतालाई राहत दिनुभन्दा एमालेविरुद्धको षड्यन्त्रमा केन्द्रित छ : बोहरा


काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहराले सरकार जनतालाई राहत दिनुभन्दा नेकपा एमालेविरुद्धको षड्यन्त्रमा केन्द्रित भएको आरोप लगाएका छन् ।
अध्यक्ष बोहराले मंगलबार विज्ञप्ति जारी गरी कोरोना महामारीले मुलुक आक्रान्त भइरहेका बेला राज्यका सबैजसो अंग अस्तव्यस्त देखिएको बताएका छन् ।
‘आम जनता महंगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिन सकेको छैन । खोपमा अपचलन भएका कुराहरु आइरहेका छन् । औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्तैनन् ।’ उनले विज्ञप्तिमा भनेका छन् ‘सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित छ ।’
अध्यक्ष बोहराले पार्टीलाई सबैखाले अवसरवाद र अराजक प्रवृत्तिबाट मुक्त गर्दै खदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लानुपर्ने बताएका छन् ।






















