देश

भ्रष्टाचार हुने मुलुकहरुमा नेपाल ११७औं स्थानमा

जगत ठाडा मगर
२०७८ माघ ११ | मध्यान्ह ०१:१० बजे

काठमाडाैं, माघ ११ । भ्रष्टाचार हुने मुलुकमा नेपाल ११७औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सन् २०२१ को सूचकांक मंगलबार सार्वजनिक गर्दै नेपाल गतवर्षकै स्थानमा रहेको देखाएको हो ।

यसअघि पनि यस सूचीमा नेपालको अंक ३३ (११७ औँ स्थान) नै रहेको थियो । यसअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको छ । दक्षिण एसियाली मुलुकहरूमा नेपालभन्दा भुटान, भारत, माल्दिभ्स र श्रीलंका अगाडि छन् । भुटान ६८ अंक प्राप्त गरी २५औँ, मालदिभ्स ४० अंक प्राप्त गरी ८५ औँ, भारत ४० अंक प्राप्त गरी ८५ औँ र श्रीलंका ३७ अंक प्राप्त गरी १०२ औँ स्थान छन् ।

यस्तै पाकिस्तान २८ अंक प्राप्त गरी १४०औँ, बङ्गलादेश २६ अंक प्राप्त गरी १४७ औँ र अफगानिस्तान १६ अंक प्राप्त गरी १७४ औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४५ अंक प्राप्त गरी ६६औँ स्थानमा रहेको छ । नेपालको स्थिति दक्षिण एसियाली मुलुकहरूमा भुटान, माल्दिभ्स, भारत र श्रीलंकापछिको पाँचौं स्थानमा छ । ट्रान्सपरेन्सीले एक सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हाे ।

जसमा डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अंक पाएका छन् । त्यस्तै, दक्षिण सुडान भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककाे सूचीमा परेकाे छ । ११ अंकसहित उक्त देश १८०औँ स्थानमा छ ।

कमेन्टहरु