राजनीति

चीनबाट फर्किएपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे नेता वर्षमान पुन

जगत ठाडा मगर
२०७८ माघ ११ | बिहान ०९:१० बजे

काठमाडौं, माघ ११ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । चीनमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता पुनले मंगलबार विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

नेता पुनको साथमा पूर्वसभामुख समेत रहेका पुनकी पत्नी ओनसरी घर्ती पनि प्रचण्डको निवासमा पुगेकी थिइन् । चीनबाट फर्किएपछि नेता पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू अब स्वस्थ भएको भन्दै पार्टी महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका थिए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनको भनाइ थियो ।

गत पुस ११ देखि १९ सम्म चलेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनले अध्यक्ष मात्र चयन गरेको थियो । बाँकी पदाधिकारी चयनका लागि माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । माओवादी केन्द्रमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङ र शक्तिबहादुर बस्नेतले महासचिवमा दाबी गरेका छन् ।

कमेन्टहरु