जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईको मृत्यु, १३ घाइते


बारा, माघ ११ । बाराको आदर्श कोटवाल गाउँपालिका ३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
गएराति ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ पल्टिएको हो। रथ पल्टिँदा आदर्श कोटवाल ३ बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका ७ जानकीनगरकी २५ वर्षीया बालकुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। बतराका सियाराम महरको विवाहमा गएराति ८ बजेतिर रथ पल्टिएको उनले बताए।
ब्रह्माबाबा भन्ने स्थानमा पूजा गरी फर्कने क्रममा जन्ती बोकेको रथ अनियन्त्रित भई रुखमा ठोक्किएको स्थानीय बासिन्दाको भनाइ छ। बेहुला भने सकुशल रहेका छन्। दुर्घटनामा १३ जना जन्ती घाइते भएका छन्। उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।






















