देश

घोराही कारागारबार फरार कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

नवलपुर टुडे
२०७८ माघ १० | मध्यान्ह ०७:१० बजे

दाङ, १० माघ । दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कैदी परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले परियारलाई नेपाल–भारतको सिमा क्षेत्र बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–१५ स्थित जमुनहा नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

‘कारागारका कैदी उपचारको बहाना बनाएर भागेपछि जिल्ला प्रहरी कार्यालयबाट डिएसपीको कमाण्डमा खोजी तथा अनुसन्धानको कार्य भैरहेको थियो’, प्रहरी उपरीक्षक काफ्लेले भने,‘त्यसैक्रममा प्रहरीले सोमबार नेपालगंजको जमुनहा नाकाबाट हिडडुल गरिरहेको अवस्थामा परियारलाई पक्राउ गरेको हो ।’

कारागारमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका परियार पुसको ८ गते छालाको उपचार गर्न भनी प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए । तर उनीहरू अस्पताल नगएर घोराहीमा रहेको थकाली भान्सा घर एण्ड लजमा पुगेका थिए । लजमा यौन क्रियाकलापमा संलग्न रहेको बेला प्रहरी जवानलाई कोठामा थुनेर उनी भागेका थिए ।

प्रहरी र कैदीले थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो । कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । कारागारका नाईकेसमेत रहेका परियार भागेपछि अनुसन्धानको लागि कारागारका जेलर युवराज परियारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्य धनबहादुर चौधरी अनुसन्धानका क्रममा कारागारमा रहेका छन् ।

कमेन्टहरु