देश

शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह सुरु

जगत ठाडा मगर
२०७८ माघ १० | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ १० । सहिद सप्ताहको पहिलो दिन सोमबार शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौं महानगरका प्रमुख एवं सहिद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन् ।

कोभिड महामारीका कारण यस वर्ष औपचारिक रूपमा सभा आयोजना नगरिने महानगरपालिकाले जनाएको छ । यो स्थानलाई वि.सं २०३५ सालमा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो । माल्यार्पणपछि पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने सहिदको योगदानलाई प्रतिकूल परिस्थिति छ भनेर बिर्सन नमिल्ने मेयर शाक्यले बताए । कार्यक्रमको स्वरूप परिवर्तन गरेर सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिइएको मेयर शाक्यको भनाई छ ।

शुक्रराजको जन्म वि.सं. १९५० सालमा बनासरमा भएको थियो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा सुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा संगठन गर्न थालेका थिए । त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो ।

शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । त्यसवेला समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए । धार्मिक गतिविधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा उनले १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरूलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेका थिए। यसैका आधारमा राणाको विरोध गरेको आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो ।

१९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँचजनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरिएको थियो। यसरी जेल सजाय भोगिरहेकै वेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रूखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदहरूको पूर्ण कदको सालिक स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको सालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको ०७६ सालको श्रद्धाञ्जली सभामा स्थापना गरिएको हो । माघ १६ गते बिहान ९ बजे लैनचौरको सहिद स्मारकमा ज्ञात अज्ञात सहिदको सम्झनामा संक्षिप्त स्मृति कार्यक्रम आयोजना गरिने महानगरले जनाएको छ ।

कमेन्टहरु