आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको मन्त्री यादवको दाबी


काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको दावी गरेकी छिन् ।
मन्त्री यादवले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै माघ ५ गते बलिदान दिवसका अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित नरहेको दाबी गरेकी हुन् । उनले पूर्वाग्रहपूर्ण ढंगले उनको आ–आफ्नो तरिकाले अपव्याख्या गर्ने काम भएको जिकिर गरेकी छिन् ।
‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेट नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ’ मन्त्री यादवले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
उनले वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त समेत गरेकी छन् । सीके राउतलाई ज्यान मार्ने धम्की दिएको भन्दै उनको राजीनामा माग भइरहेको सन्दर्भमा यादवले यस्तो विज्ञप्ति जारी गरेकी हुन् ।






















