१२ दिनदेखि बेपत्ता रहेका बाबुरामको शव चारकोसे जंगलमा रुखको जराभित्र भेटियो


विराटनगर, माघ १० । मोरङको केराबारीमा १२ दिनदेखि बेपत्ता रहेका एक जना युवकको शव चारकोसे जंगलमा भेटिएको छ । केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको हो ।
प्रहरीका अनुसार खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र शव भेटिएपछि भट्टराईको हत्या भएको आशंका गरिएको छ । आफन्त र परिवारका सदस्यले हत्या गरेर शव रुखको जराभित्र लुकाएर राखिएको हुनसक्ने बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।
भट्टराई गत पुस २७ गतेदेखि हराइरहेका थिए । परिवारबाट सम्पर्कविहीन बनेका उनको शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए ।






















