इंग्लिस प्रिमियरमा लिभरपुल र चेल्सीको सहज जित


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ अन्तरले हरायो ।
लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १–१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे । भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको ३२औं मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गर्दा लिभरपुल २–० ले अगाडि बढ्यो ।
५५औं मिनेटमा प्यालेसका इडवार्डले गोल गर्दै दूरी २–१ को स्थिति झारे । खेलको ८९औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा छ ।
अर्को खेलमा चेल्सीले टोटेनहमलाई २–० अन्तरले हरायो । घरेलु मैदानमा चेल्सीलाई जितउन हाकिम जिएच र थियागो सिल्भाले १–१ गोल गरे । ४७ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५५ औं मिनेटमा सिल्भाले गोल गर्दा चेल्सीलाई सहज जित तर्फ अग्रसर भयो ।
जितसँगै चेल्सी २४ खेलमा ४७ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित टोटेनहम ३६ अंक जोडेर सातौं स्थानमा छ । राति भएको अन्य खेलमा आर्सनल र बर्नलीले गोल रहित बराबरी खेल्दा लेस्टर सिटी र ब्राइटनले १–१ गोलको बराबरी खेले ।






















