चार्टर्ड विमानबाट आज स्वदेश फर्किंदै माओवादी नेता बर्षमान पुन

जगत ठाडा मगर
२०७८ माघ १० | बिहान ०८:१० बजे

बुटवल, माघ १० । चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्किंने भएका छन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर्ड विमानमार्फत पुन नेपाल आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्ण स्वास्थ्यलाभ गरी स्वदेश फर्किंन लागेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् । ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्यलाभ गरेर नेपाल फर्किंदै छु’, पुनले फेसबुकमार्फत जानकारी दिएका छन् ।
नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । काठमाडाैंमा उपचार सम्भव नभएपछि उनी माओवादी अध्यक्ष प्रचण्डकाे सल्लाहमा सुरुमा बैंकक र त्यसपछि चीन उपचारका लागि गएका थिए ।






















