सशस्त्रका डीआइजी गणेश ठाडा मगरले नेतृत्व गरेको छिन्नमस्ता बाहिनीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’


बुटवल, माघ ९ । यस वर्षको ‘उत्कृष्ट बाहिनी अवार्ड’ मधेस प्रदेश स्थित नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीले पाएको छ । आइतबार २१औं सशस्त्र प्रहरी दिवस २०७८ काे अवसरमा छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्राप्त गरेका हुन् ।
२१औं सशस्त्र प्रहरी दिवस–२०७८ को अवसरमा आइतबार सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले डीआइजी ठाडा मगरलाई उक्त अवार्ड प्रदान गरे । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी उत्कृष्ट बाहिनी घोषित भएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्मा लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।






















