सशस्त्र प्रहरी बल नेपालको २१औं दिवस, हलचोकमा सम्पन्न


काठमाडौं, माघ ९ । सशस्त्र प्रहरी बल नेपालले २१औं सशस्त्र प्रहरी दिवस आइतबार बिशेष कार्यक्रमको आयोजना गरि भब्य रुपमा मनाएको छ ।
प्रधान कार्यालयमा आयोजित २१औं सशस्त्र प्रहरी दिवस २०७८ समारोहमा प्रधानमन्त्री देउवाले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल नेपालद्वारा प्रकाशित सचित्र पुस्तक ‘ARMED POLICE FORCE, NEPAL’ र राष्ट्रप्रेम तथा समर्पण भावले ओतप्रोत सशस्त्र प्रहरी बल नेपालको नयाँ गीतको बिद्युतीय माध्यमबाट विमोचन गर्नुभयो ।

प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा यस वर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो ।

प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा सम्बोधनको क्रममा देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाईते सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले असामान्य परिस्थितिमा स्थापना भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको व्यवसायिकता, कर्तव्य परायणता र सेवाभावको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आम नागरिकको सेवा र राष्ट्रको सुरक्षा तथा सीमा सुरक्षाको साथै विभिन्न तहका निर्वाचन सुरक्षा, २०७२ सालको विनासकारी महाभूकम्पमा उद्वार, बिभिन्न प्राकृतिक प्रकोप तथा विपद्हरुमा उद्वार तथा राहत वितरण, कोभिड–१९ महामारी नियन्त्रण तथा डेडिकेटेड अस्पताल मार्फत संक्रमितहरुको स्वास्थ्य उपचारमा पुर्याएको योगदान, सीमा नाकामा आवतजावत नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनमा सम्पादन गरेका कार्यहरु प्रशंसनीय गर्दै सिमित श्रोतसाधनको बावजुद समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको सशस्त्र प्रहरी बल, नेपालको सांगठानिक बिकास विस्तार लगायत बृत्तिबिकासको योजना तर्जुमा गर्न गृहमन्त्रालयलाई निर्देशन दिनुहुँदै हाल देखिएका सुरक्षा चुनौतीलाई परास्त गर्दै भविष्यमा आउन सक्ने चुनौतीहरुको समेत आकलन गर्दै योजनाका साथ कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

सो समारोहका विशिष्ट अतिथि माननीय गृहमन्त्री बालकृष्ण खाडले सो विशेष समारोहमा देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका सशस्त्र प्रहरी उपरीक्षक स्वर्गिय धनबहादुर बस्नेतको योगदान र बीरताको सम्मान गर्दै उहाँकी श्रीमती लक्ष्मी बस्नेत र छोरा सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । उहाँले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, सीमा सुरक्षा, उद्वार, राहत विरतण लगायत राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा संगठन र राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुहुँदै कोभिड–१९ महामारीमा अग्रपंक्तिमा रहेर तथा नेपाल एपीएफ अस्पताल मार्फत संक्रमितहरुको उपचारमा पु¥याएको योगदानले थुप्रै व्यक्तिले पुनर्जन्म पाएको स्मरण गर्नुहुँदै स्वास्थ्यकर्मी, सफाईकर्मी लगायत सम्वद्ध सबैप्रति हार्दिक आभार प्रकट गर्नुभयो । गृहमन्त्री खाडले सशस्त्र प्रहरी बल, नेपालले हर्सोल्लासकासाथ मनाईरहेको २१औं सशस्त्र प्रहरी दिवसको विशेष अवसरमा सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई अझ कटिबद्ध र क्रियाशिल रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारबाट निर्देशित लक्ष्य हासिल गर्न शान्ति सुरक्षा र अमनचयन कायम गरी आवश्यक सामाजिक सद्भाव बनाई राख्न र सुशासन कायम गर्न सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै सशस्त्र प्रहरी बल, नेपाल अगाडी बढिरहेको उल्लेख गर्नुभयो । उहाँले लैङ्गिकमैत्री वातावरणको सिर्जना, भ्रष्टाचारमा शून्य सहनशीलता, मानवअधिकारको सम्मान, संरक्षण एवं सम्वर्धन गर्दै नेपाल सरकारको शून्य सहनशीलताको नीतिहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने कार्यमा सशस्त्र प्रहरी बल, नेपाल प्रतिबद्धताकासाथ अघि बढिरहेको बताउनुहुँदै नेपाल सरकारद्वारा निर्दिष्ट गरिएका आर्थिक, प्रशासनिक र अप्रेशनल नीतिहरुलाई अक्षरशः पालना गर्दै सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यकासाथ शान्ति सुरक्षालाई बलियो बनाउन एवं सुशासन कायम राखी विकासका पूर्वाधारहरुका लागि सुरक्षित वातावरण तयार गर्ने कार्यमा संगठन सदैव क्रियाशील रहँदै आएको बताउनुभयो । महानिरीक्षक खनालले १ सय १० शैयाबाट हाल अस्थायी रुपमा ३ सय ५० शैयाको स्वीकृति प्राप्त नेपाल एपीएफ अस्पताललाई स्थायी स्वीकृति एवं आवश्यक जनशक्ति र श्रोतसाधन प्राप्त भएमा अस्पतालले थप प्रभावकारी कार्य सम्पादन गर्न सक्ने बताउनुभयो ।

कार्यक्रम सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष समारोहमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।























