राजनीति

स्थानीय तहको चुनाव २०७९ असोजपछि गर्ने सत्तारुढ दल सहमत

जगत ठाडा मगर
२०७८ माघ ९ | मध्यान्ह ०७:१० बजे

काठमाडौं, माघ ९ । सत्तारुढ गठबन्धनले २०७९ असोजपछि स्थानीय तहको चुनाव गर्ने सहमति गरेको छ। आइतबार कानुनविद्‌हरुसँगको छलफलपछि सत्तारुढ गठबन्धनले स्थानीत तहको तीनै चरणको चुनावबाट गठित पालिकाहरुको कार्यकाल पूरा भएपछि गर्ने सहमति गरेको गठबन्धन दल जनता समावादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिएका छन्।

स्थानीय तहको २०७४ सालमा वैशाख ३१ गते पहिलो, जेठ ३१ गते दोस्रो र असोज २ गते तेस्रो चरणको चुनाव भएको थियो। भट्टराईका अनुसार स्थानीय तहको तेस्रो चरणको कार्यकाल २०७९ असोज २ मा सकिने छ । उनले ट्विट गर्दै भनेका छन्, ‘संविधानसँग बाझिएका कानुनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ।’

उनले नेकपा एमालेलाई लक्षित भ्रम नछर्नसमेत आग्रह गरेका छन्। भनेका छन्, ‘आफ्नो आंगको भैंसी नदेख्नेहरूले अरूको आंगको जुम्रा देखाएर जनतामा भ्रम नछरून्।’ यसअघि नेकपा एमालेले वैशाखमा नै स्थानीय तहको चुनाव गराउनुपर्ने बताइरहेको थियो।

आइतबार सत्तारुढ गठबन्धनलाई कानुनविद्हरुले स्थानीय तहको चुवनासम्बन्धी ऐन संशोधन गर्न सुझाएको छ। स्थानीय तहको चुवनासम्बन्धी ऐनमा स्थानीय तह जनप्रतिनिधिविहीन गराउन नहुने उल्लेख छ भने संविधानको धारा २२५ मा पदावधि सकिएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने प्रावधान रहेको छ । कानुनविद्हरुले स्थानीय तहको चुनावसम्बन्धी कानुन संविधानसँग बाझिएकोले संशोधन गर्न सुझाएका हुन्।

 

photo 2022 01 23 06 00 11

कमेन्टहरु