राजनीति

स्थानीय तहको निर्वाचन मिति पर धकेल्न पाइँदैन : एमाले

जगत ठाडा मगर
२०७८ माघ ९ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ ९ । नेकपा एमालेले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन मिति पर धकेल्न खोजे आफूहरूलाई मान्य नहुने बताएको छ ।

एमाले अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा एमाले स्पष्ट, द्विविधारहित र दृढ अडानमा रहेको बताएका छन् । ‘यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुनेछैन,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभाको निर्वाचन ०७९ वैशाखमा गर्ने कार्ड गठबन्धनले फ्याँकेको भन्दै एमालेले त्यसमा असल मनसाय नरहेको बताएको छ । स्थानीय निर्वाचन पर धकेल्ने र मुलुकमा राजनीतिक अन्याेल सिर्जना गर्ने गलत नियतका साथ अगाडि ल्याइएको एमालेले बताएको छ ।

जुनसुकै बेलामा निर्वाचन भएमा पनि एमाले सामना गर्न तयार रहेको ओलीको विज्ञप्तिमा उल्लेख छ । एमाले गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा प्रतिबद्ध रहेको र त्यस मान्यताप्रति अडिग रहेको पनि ओलीले स्पष्ट पारेका छन् ।

कमेन्टहरु