नेपालमा न्यूनचापीय प्रणाली भित्रिँदै


काठमाडौं, माघ ८ । नेपालमा अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने पूर्वानुमान गरिएको छ ।
यस अवधिमा तापक्रम घट्ने, चिसो बढ्ने र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हालको प्रणाली शनिबारदेखि बाहिरिने भनिए पनि थपिएको जलवाष्पका कारण अझ बलियो बन्न पुगेको महाशाखाले जनाएको छ । जसका कारण शनिबार, आइतबार र सोमबारसम्म नै यस प्रणालीले देशव्यापी प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरी जनाएको छ ।
यस प्रणालीको बढी प्रभाव देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा हुँदा पूर्ण बदली रहने र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । बढी प्रभाव पर्ने स्थानका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ ।
ती प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ। बागमती, प्रदेश १, मधेस प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा पनि हल्का वर्षा हुने अनुमान गरिएको छ । मंगलबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै क्रमिक सुधार हुने महाशाखाले उल्लेख गरेको छ ।






















