स्थापित संयन्त्रमार्फत सीमाबारे संवाद गरौँ : भारत


काठमाडौं, माघ १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहि दिन अघि नेपाली भूमि लिपुलेकमा सडक विस्तार भइरहेको सार्वजनिक गरेपछि नेपालका प्रमुख पार्टीहरूले आपत्ति जनाएसँगै भारतीय दूतावासले थप प्रस्टीकरण दिएको छ । शनिबार भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा सीमा विषयमा नेपाल र भारतबीच स्थापित अन्तरसरकारी संयन्त्रहरूमार्फत वार्ता र संवाद हुनुपर्ने धारणा राखेको छ ।
‘भारत–नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत र स्पष्ट रहेको छ,’ सञ्चारमाध्यमहरूले सोधेको प्रश्नको जबाफ भन्दै दूतावासका प्रवक्ता नवीन कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरू वार्ता र संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने हाम्रो धारणा रहेको छ। दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ।’























