देश

अवैध सम्बन्ध लुकाउन महिलाकाे हत्या, संलग्न तीन जना अभियुक्त सार्वजनिक

जगत ठाडा मगर
२०७८ माघ १ | मध्यान्ह ०४:१० बजे

बिनोद मण्डल
सर्लाही, ०१ माघ । अवैध सम्बन्ध लुकाउन महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई सार्वजनिक गरेको छ ।

सर्लाहीको बरहथवा स्थित इलाका प्रहरी कार्यालय बरहथवाले शनिबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरीले घटनामा संलग्न हरिवन नगरपालिका–१०, ताइवान टोल बस्ने २७ वर्षीय सन्तोष साह, सोही स्थान बस्ने २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरालाई सार्वजनिक गरेको हो ।

अभियुक्त तीनै जना एकै गाउँका साथि रहेको खुलेको छ । उनीहरुले गत पुस १७ राती बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ वर्षीया सावित्री कुमारी महराको हत्या गरेका थिए । घटनाका मुख्य योजनाकार सन्तोष साहले महिलालाई घरबाट ल्याएर उखु बारीमा साथिहरुसँग मिलेर हत्या गरेका प्रहरीको भनाई छ ।

मृतक महिला र सन्तोषबीच जग्गा किन्ने शिलसिलामा चिनजान भएको थियो । सोही चिनजान पछि अवैध सम्बन्धमा परिणत भएको थियो । मृतक महिला र सन्तोष दुवै विवाहित हुन् । महिलाले अब आफुसँग विहे गर्न वा भगाउन सन्तोषलाई दवाव दिएपछि सन्तोषले महिलाको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । सन्तोषको केही समय पहिलामात्र विवाह भएको हो भने महिलाको तीन सन्तान छन् । १२, ७ र ५ वर्षका दुई छोरा र एक छोरी रहेको मृतक महिलाका परिवारले जनाएका छन् ।

गत पुष १७ गते अंग्रेजी नयाँ वर्षको दिन रातीदेखि वेपत्ता महिलाको शव सोही वडा स्थित उखुबारीमा एक हप्तापछि फेला परेको थियो । प्रहरीका अनुसार शवको केहि भाग जलेको अवस्थामा निवस्त्र फेला परेको हो । लगत्तै घटनाको शुष्म अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पाहिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमा शंकर यादवले जानकारी दिए ।

 

कमेन्टहरु