स्वास्थ्य

भरतपुर अस्पतालले भन्यो– सामान्य अवस्थाका बिरामी अस्पताल नआउनू

जगत ठाडा मगर
२०७८ माघ १ | मध्यान्ह ०४:१० बजे

चितवन, माघ १ । भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेका हुन्।

जिल्लामा सङ्क्रमण दर अत्यधिक बढेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को तेस्रो लहरस्वरुप विगत केही दिनदेखि नेपालमा कोभिड सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गइरहेको सबैलाई जानकारी नै छ। यस सन्दर्भमा सामान्य र पछि जाँच गराउँदा पनि हुने प्रकृतिका बिरामी अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुन्छ।’

काठमाडौँको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी पनि उच्च सङ्ख्यामा सङ्क्रमित भएको तथ्याङ्कलेसमेत अस्पतालमा एकअर्काबाट सङ्क्रमण फैलनसक्ने सम्भावना बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ।

भरतपुर अस्पतालमा पछिल्लो दुई दिनको परीक्षणमा देखिएको कोभिड पोजिटिभ दर अति उच्च रहेको उल्लेख गर्दै पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जना अर्थात ५५ प्रतिशतमा पोजिटिभ देखिएको जनाइएको छ।

त्यस्तै पुस ३० गतेको १८६ जनामा गरिएको परीक्षणमा ११५ जना अर्थात ६१.२५ प्रतिशतमा पोजेटिभ देखिएको छ। भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो। यहाँ चितवनसहित छिमेकी १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्।

यसअघिका कोभिडको सङ्क्रमण उच्च हुँदा यहाँ धेरैको उपचार गरिएको थियो। कोभिड सङ्क्रमण सुरु भएपछि नियमित सङ्क्रमितको उपचार अस्पतालमा हुँदै आएको छ । रासस

 

कमेन्टहरु