भारतको हस्तक्षेपप्रति सरकार र गठबन्धनको मौनता रहस्यमय : राप्रपा नेपाल


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेकोबारे सरकार र सत्तारूढ गठबन्धनको मौनताबारे आश्चर्य व्यक्त गरेको छ । राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने बताएका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ,‘तर, भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय छ। ’ नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्ध भएको राप्रपाको ठहर छ।
राप्रपाले भारतसँग कुटनैतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने सरकारसँग माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपकाबारे नेपाल सरकारले भारतसँग कुटनैतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ।’






















