झापामा ५४ प्रतिशत नागरिकलाई जेईविरुद्धको खोप लगाइयो


झापा । जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत जिल्लामा दुई लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ । यो लक्ष्यको ५४ प्रतिशत रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका १५ पालिकामध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ४० हजार ३१३ जनालाई खोप लगाइसकिएको छ। स्थानीय स्वास्थ्य चौकी र सार्वजनिकस्थलमा दक्ष स्वास्थ्यकर्मीद्वारा खोप लगाइरहेको उनले बताए । यही असोज ५ गते मेचीनगर नगरपालिकाबाट सुरु गरिएको खोप अभियानमा ३० वर्षभन्दा माथिका नागरिक सहभागी छन्।
त्यसैगरी गाउँपालिकाअन्तर्गत कमल, झापा, गौरीगञ्ज, बाह्रदशी, हल्दिबारी, कचनकवल र बुद्धशान्तिमा पनि जईविरुद्धको खोप लगाइएको छ। जिल्लामा चालु आवमा १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख दासले जानकारी दिए। तीमध्ये सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कोशी प्रदेशमा झापाबाट खोप अभियानको सुरुवात गरिएको छ।
जिल्लामा पाँच लाख ७० हजार खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि ५०० स्वास्थ्यकर्मी परिचालन गरिएको कार्यालय प्रमुख दासले जानकारी दिए।






















