पर्यटन, लुम्बिनी प्रदेश

पाल्पाको रानीमहल दरबार संग्रहालययमा परिणत

नवलपुर टुडे
२०७८ माघ १ | मध्यान्ह ०२:१० बजे

पाल्पा, ०१ माघ । नेपालकै ताजमहलका रूपमा चिनिएको पाल्पाको रानीमहल दरबार संग्रहालयका रूपमा विकसित गरिएको छ । खड्गशमशेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए ।

१५ लाखबाट थालनी भएको काम हाल करिब ३५ देखि ४० लाख खर्च भइसकेको बताउँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हुँदा बजेट बढाउँदै जाने बताए । उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताए ।

नगरपालिकाका अधिकृत शंकर भण्डारीले करिब दुई महिनाको निरन्तर मिहिनेतले दरबारलाई संग्रहालयको रूपमा विकास गर्न सकिएको जनाकारी दिए। उनले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई संग्रहालयमा राखिएको बताए ।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्गशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कलाकौशलको बेजोड नमुनाले सिँगारेर महल बनाइएको छ ।

विसं १९६० मा खड्गशमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्रशमशेरले थाहा पाए । चन्द्रशमशेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घन्टी बज्ने लक्षण देखापरेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ ।

तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रहेको रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । धार्मिक र पर्यटकीय रूपले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ । रासस

 

कमेन्टहरु