सिरहा गोलबजारमा मोटरसाइकल दुर्घटनामा एक जना मृत्यु


बिनोद मण्डल
सिरहा, पुस ३० । सिराहाको गोलबजारस्थित दुर्गा मन्दिर नजिकै बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम सडक अन्तर्गत गोलबजार नगरपालिका–६ मा पर्ने दुर्गा मन्दिर नजिकै भएको मोटरसाइकल दुर्घटनामा गोलबजार–६ घर भएका करिब ४२ वर्षीय कृष्णदेव यादवको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार यादव मोटरसाइकल चढेर बिहीबार साँझ ६ बजेतिर चोहर्वातिर गइरहेका थिए ।प्रहरीका अनुसार तीब्र गतिमा रहेको यादव चढेको प्रदेश २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकलले दुर्गा मन्दिर नजिक बा.९४ प ४६७२ नम्बरको अर्को मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।
अर्को मोटरसाइकलमा रहेका गोलबजार–७ का सागर श्रेष्ठको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष कुमार राईले जानकारी दिए ।
प्रहरी निरीक्षक राईका अनुसार मृतकको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।






















