देश

पर्सामा रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ३० | बिहान ०८:०९ बजे

पर्सा । पर्सा प्रहरीले एक जना रिक्सा चालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

भारत विहार वैशाली जिल्ला महुवा ग्राम पञ्चायत हाल वीरगन्ज महानगरपालिका-३ मा बस्दै आएका ई-रिक्सा चालक मुख्तार मियाँको हत्या आरोपमा चिनजानकै साथी नाता पर्ने दुई जना मुख्य आरोपीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुख्य आरोपी भारत विहार राज्य पूर्वुचम्पारण मोतीहारी -६ घरभई छपकैयामा बस्दै आएका ३० वर्षीय सुनिल कुमार र बाराको परवानीपुर गाउँपालिका ५ बस्ने २२ वर्षीय निकेश पटेल रहेका छन्।

त्यसैगरी हत्यामा सघाएका भारत विहार जिल्ला मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर-३ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ३ हाल छपकैया बस्दै आएका ५५ वर्षीय सपन मण्डल, त्यसैगरी विहार नै घर भएका हाल वीरगन्जको छपकैयाँ बस्ने ३५ वर्षीय बक्सर भन्ने नाजिर हुसैन र छपकैया ३ बस्ने ५० वर्षीय बाबर हुसैन रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट मृतकको अटो रिक्सा, हत्याका लागी प्रयोग गरेको फलामको रेन्च, ज्याकेट, जुतालगायत सामान बरामद गरेको छ । गत पुस २२ गते वीरगन्ज महानगरपालिका-२३ इटियाहीस्थित नहरमा हत्या गरी फालेको अवस्थामा मियाँको शव बरामद भएको थियो। पुस २२ गते ई-रिक्सा सहित हराइरहेको भन्दै खोजतलासका लागि उनकी श्रीमतीले दिएको निवेदनको अधारमा पर्सा प्रहरीले खोजविन गर्दैजाँदा नहरमा उनको शव फेला परेको थियो।

आपसी झगडा र आर्थिक प्रलोभनले घटना घटाएको अनुसन्धानले देखाएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए।

कमेन्टहरु