राजनीति

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन फागुनमा सर्‍यो

जगत ठाडा मगर
२०७८ पुस ३० | बिहान ०६:०९ बजे

काठमाडौ । राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ। यसअघि पार्टीको प्रदेश सम्मेलन आउँदो माघको १५ र १६ गतेका लागि तोकिएको थियो।

पछिल्लो समय कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।

देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।

जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय सङ्गठनलाई निर्देशन गरेको पार्टीले भीड हुने सभा/सम्मेलनलाई समेत स्थगन गरेको छ । राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्दै आइरहेको छ। रासस

कमेन्टहरु