देश

मोरङ र सुनसरीमा सवारी दुर्घटना हुदा दुईजनाको मृत्यु

जगत ठाडा मगर
२०७८ पुस २९ | बिहान ११:०९ बजे

मोरङ । मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार राति मोरङको उर्लाबारी नगरपालिका र सुनसरीको कोशी गाउँपालिकामा भएको दुर्घटनामा २ जना पुरुषको मृत्यु भएको हो।

उर्लावारी नगरपालिका–७ मा राति करिब ८ बजे भ्यान र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक २१ वर्षीय पवन लिम्बूको मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ३६४४ नम्बरको भ्यान र विपरीत दिशाबाट आएको ना १३ प ७६३२ नम्बरको मोटरसाइकल ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर स्थानीय ४० वर्षीय कुमार उरावको मृत्यु भएको हो। बुधबार साँझ करिब ६ बजे ट्याक्टरमा उखु भर्ने क्रममा ट्रली पल्टिएर किचेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उरावको घटनास्थलमै मृत्यु भएको थियो।

कमेन्टहरु