आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं, पुस २९ । हाल नेपालमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहीबार देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपात हुनेछ ।
यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन् । हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ । देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । राती देशभर आंशिक बदली रहने छ । शुक्रबार दिउँसो प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ । राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।






















