मन्त्री आलेको निर्देशनमा नारायणहिटीमा छानविन गर्न प्रहरी र अख्तियारलाई पत्राचार


काठमाडौं, पुस २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयलाई भाडामा लिएको विषयमा छानविन गर्न प्रहरी र अख्तियारलाई पत्राचार गरेको छ । मन्त्री आलेले मंगलबार प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि पत्र पठाउने निर्णय गरेका हुन् ।
त्यसका आधारमा मन्त्रालयले प्रहरी र अख्तियारलाई पत्र पठाएको हो । दरबार सङ्ग्रहालय परिसरमा क्याफ्टेरिया सञ्चालनसम्बन्धी अध्ययन तथा छानविन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बि म्यानेजेन्टका सञ्चालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि पत्र पठाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता टोकराज पाण्डेले बताए ।
मुलुकी अपराध संहिता २०७४ को दफा १४७ मा राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीविना अतिक्रमण, भोगचलन गर्न नपाइने उल्लेख गरिएको छ । यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।
दरबार सङ्ग्रहालय परिसरमा क्याफ्टेरिया सञ्चालनमा भ्रष्टाचारजन्य क्रियाकलाप भएकाले छानबिन गरी कारबाही गर्न अख्तियार दुरुयोग अनुसन्धान आयोगलाई समेत मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले अख्तियारलाई पठाएको पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बि म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको पनि उल्लेख गरिएको छ ।
मङ्गलबार नाराणहिटी दरबार सङ्ग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिई सकेका छन् ।






















