मुख्य समाचार

अन्धकार भित्र रुमलिएको बस्ती हाम्रो सुस्ता

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह ०८:०९ बजे

बिनोद मण्डल
नवलपरासी, पुस २८ । नेपालको राजनीतिक विभाजन अनुसार लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा पर्ने सुस्ता समुन्द्री सतहबाट ८८ मिटरदेखि ८१५ मीटरको उचाइमा अवस्थित छ । करिब ९६.५१ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको सुस्ताको नामकरण २०२० सालतिर सस्तोमा दैनिक उपभोग्य सामग्री पाइने ठाउँ भएकोले भोजपुरी भाषाको सस्ता भन्ने शब्दको परिवर्तित रूप सुस्ता हो ।

विक्रम सम्वत २०३२ सालमा आएको नारायणी नदीको बाढीले क्षतबिक्षत भएको सुस्ताको बासीलाई बाढीबाट जोगाउन तत्कालिन अवस्थाका शाही नेपाली सेना त्रिवेणी ब्यारेकबाट र भारतको चितौनी घाटबाट आएका नाभिकहरुले बाढीबाट उद्दार गरी मानिसहरूलाई ठाडी घाटमा स्थापित गराइयो । त्यसमध्ये केही मानिसलाई विक्रम संवत् २०३३ सालमा जग्गा वितरण गरेर त्रिवेणीमा राखियो ।

photo 2022 01 12 06 56 25

सन् १८१६ को सुगौली सन्धि मुताबिक नवलपरासी जिल्ला र भारतको अन्तराष्ट्रिय सिमाना नारायणी गण्डकी नदी हो । जहां नारायणी/ गण्डकीको पश्चिम तिर नेपाल र दुवैतर्फ भारत रहेको पाइन्छ । सुगौली सन्धिको समयमा सुस्ता नारायणी / गण्डकी नदीको पश्चिममा रहेको थियो । जब बाढीले दुःख दियो त्यसपछि नदीको बहाव परिवर्तन भई नदी सुस्ताको पश्चिम भएर बग्न थाल्यो त्यसपछि सुस्ता पूर्वमा पर्न गयो । यसरी प्राकृतिक विपतिको कारण सुस्ता विवाद शुरु भयो । सुस्ताको करिब ४० हजार १८० हेक्टर जमीन मध्ये १४ हजार ५०० हेक्टर जमीन भारतले अतिक्रमण गरेको अवस्था रहेको पाइन्छ । बाँकी १९ हजार ४८० हेक्टर जमिनमा भारतीय पक्षले भोगचलनमा रोक लगाएको छ ।

वि.सं २०२५ सालमा सुस्तामा प्रशासनिक कार्यालयहरू पञ्चायत कार्यालय, स्कूल, हुलाक, प्रहरी चौकी लगायतका कार्यालयहरू स्थापित भएको थियो । वि.सं २०२७ सालमा नेपालको नापी विभागले सुस्ताको नाप नक्सा लिदा भारतीय प्रहरीले नापीको कर्मचारीलाई पक्राउ गरी भारतको चम्पारनस्थित बेतिया जेलमा राखे । करिब एक वर्षपछि जमानतमा जेलबाट पक्राउ गरिएकालाई रिहा गरियो । त्यसपछि नेपाल भारत सम्झौतामा वि.सं 2029 सालमा सुस्तामा नापी जारी गरी ५५६ बिगाहा जमीनको लालपुर्जा वितरण गरिएको थियो ।

अतिक्रमणलाई निरन्तरता दिदै भारतले वि.सं २०६२ सालदेखि सुस्तामा अतिक्रमण जारी राखेको छ । फलस्वरूप सुस्तामा सीमा सर्वेक्षण नभएको अवस्था एकातिर छ भने अर्कोतिर सुस्ताको २६ किलोमीटर क्षेत्रको नक्शा छैन ।

सुस्तामा आवत जावत गर्न दुवै देशको सहमतिमा वि.सं २०३८ सालमा बनाइएको बाटो यतिबेला भारतीय पक्षको नियन्त्रणमा रहेको छ । सुस्ता भएर बग्ने नारायणी नदीको निर्माणधिन पुल समयमा सम्पन्न नहुँदा आफनै गाउँपालिका भित्र आवत जावत गर्नको लागि कठिन भन्दा कठिन बाध्यता पार गर्न विवस सुस्ता वासीले ढुङ्गाबाट यात्रा तय गरिरहेका छन् भने भारतीय बाटो प्रयोग गर्नुपर्ने अर्को बाध्यता छ ।

सुस्तामा रहेको जनताको आगनमा बिजुली छैन सडक छैन घर बनाउन पनि भारतको अनुमति लिनुपर्ने बाध्यताका बीच रहेको सुस्तामा मानविय मात्र नभई प्राकृतिक विपति बिधमान रहेको अवस्थामा त्यहाँ जनता जीवन मरणको दोसाँधमा जीवन यापन गर्न विवस भएको छ । सुस्तामा पुगेपछि वास्तविक नेपालको पीडा अनि नेपाली जनतामाथी भारतको दादागिरीको चरम सीमा हेर्न सकिन्छ ।

सुस्तामा नेपाल सरकारको ध्यान जानुपर्ने अवस्था रहेको पाइन्छ भने राजनीतिक दलले सडकमा आन्दोलन गर्नु भन्दापनि सुस्तामा आफ्ना आन्दोलनहरू जारी राख्नुपर्ने अवस्था रहेको पाइन्छ ।

कमेन्टहरु