एमाले संखुवासभा अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत


संखुवासभा, पुस २८ । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत चयन भएका छन् । सोमबारदेखि खादबारीमा सुरु भएको आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।
२६ गते ८ औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । मंगलबार र बुधबार दिनभर सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरिएको थियो । यस्तै जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ, सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
उपसचिव खड्कालाई नेकपा एमाले अध्यक्ष ओलीले आठौं अधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गराएका हुन् । सोमबारदेखि सुरु भएको आठौं जिल्ला अधिवेशनमा एक हजार जना भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
नवनिर्वाचित पदाधिकारीहरूलाई बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको निर्वाचन समितिका प्रमुख भविश्वर गुरुङले बताए ।






















