जलनपीडित बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्टले वार्षिक ६० लाख सहयोग गर्ने


काठमाडौं, पुस २८ । जलन पीडित बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्ट प्रा.लि.ले वार्षिक ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराउने १८ वर्षमुनिका बालबालिकाको उपचारका लागि पाल्पा सिमेन्टले वार्षिक ६० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।
सहयोगसम्वन्धी सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकहरु राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवाल तथा अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. सन्तोष भण्डारी र सामाजिक अभियन्ता उज्वल विक्रम थापाले हस्ताक्षर गरेका छन् । अस्पतालमा आयोजित एक समारोहबीच सहयोगसम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा विभिन्न प्रकारको जलनबाट पीडित १८ वर्षमुनिका बालबालिकाको अस्पतालले निःशुल्क उपचार गराउने उल्लेख छ । साथै, सिमेन्ट कम्पनीको तर्फबाट वार्षिक ६० लाख रुपैयाँ उपलव्ध गराउने छ । सामाजिक अभियन्ता थापाको पहलमा सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कम्पनीले जलन पीडितका लागि निःशुल्क उपचार गराउन सहयोग गरिएको पाल्पा सिमेन्टका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बताए ।
सो अवसरमा मेडिकल डाइरेक्टर भण्डारीले जलनबाट पीडितको उपचारका लागि कम्पनीको तर्फबाट सहयोग प्राप्त भएकोमा विशेष धन्यवाद दिए । उनले जलन पीडितहरु अधिकांश गरिब र असहाय हुने भएकाले सो सहयोगबाट महत्वपूर्ण सघाउ पुग्ने बताए ।






















