ट्राफिक महाशाखाले सुरु गर्यो मेसिनबाटै जरिवाना तिर्न सकिने व्यवस्था


काठमाडौं, पुस २८ । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए ।
बुधबार आयोजित कार्यक्रमका बीच ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा नगद रकम हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु–पेको किअस्क मेसिनको उद्घाटन गरेका छन् ।
एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए । उनले अब बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत बचत हुने बताए ।
प्रभु–पेका अध्यक्ष लामाले मेसिनले बैंकिङ कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिवाना तिर्ने सेवाग्राही बढी लाभान्वित हुने बताइन् ।






















