मन्त्री आलेद्वारा मझगाँउ विमानस्थलको शिलान्यास

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह ०१:०९ बजे

कञ्चनपुर । दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको शिलान्यास गरिएको छ । बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले शिलान्यास गरेका हुन् ।
विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । ६६ बिघा जमिनमा विमानस्थल बन्ने छ । शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमानस्थलको पुनःनिर्माण हुने भएको छ ।
मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने छन् । विमानस्थल निर्माणका लागि पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत रकम व्यहोर्ने सहमति भएको छ ।






















