एमाले कास्की अध्यक्षमा मन बहादुर गुरुङ विजयी बैरागी ४९ मतले हारे


पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी दामोदर पौडेल बैरागीलाई ४९ मतले हराउँदै गुरुङ अध्यक्ष बनेका हुन् । बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार ८९५ मत खसेकोमा गुरुङले ४५६ र बैरागीले ४०७ मत पाएका छन् । ३२ मत बदर भएको छ । सर्वसम्मतको प्रयास असफल भएपछि मंगलबार मतदान भएको थियो ।
अध्यक्ष निर्वाचित गुरुङ हालका उपाध्यक्ष र बैरागी सचिव हुन् । गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र बैरागीलाई संगठन विभाग प्रमुख खगराज अधिकारीको समर्थन थियो । १०औँ जिल्ला अधिवेशनअन्तर्गत दुवै छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका थिए ।
उपाध्यक्ष गुरुङ प्यानलले जित्दा सचिव र उपसचिव भने बैरागी प्यानलका उम्मेदवारले जितेका छन् । गुरुङ प्यानलबाट उपाध्यक्ष लडेका तेजनारायण अधिकारी ४२१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रभा कोइरालाले ४१३ मत ल्याएकी छन् । सचिवमा बैरागी प्यानलका बैनबहादुर अधिकारी ४७५ मत ल्याएर विजयी भए । सचिवका अर्का आकाङ्क्षी विष्णु केसीले ३३४ मत पाए ।
उपसचिवमा दर्शन लामा र नवराज ओझा विजयी भएका छन् । लामाले ५४० र ओझाले ४४३ मत ल्याए । उपसचिवका दाबेदार इमानराज पौडेलले ३५५ र मन्बुजा विश्वकर्माले २३७ मत ल्याएका छन् । सदस्यहरुको मतगणना जारी छ । कास्कीमा एक सय २० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ ।






















