पत्रकार निरौला र पर्यटनविद शेर्पाले लामो अन्तरवार्ता लिएर राखे विश्व रेकर्ड


सोलुखुम्बु । नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तरवार्ताको विधाबाट सोलुखुम्बुका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्वकिर्तिमान बनाएका छन्।
पत्रकार निरौला र पर्यटनविद् शेर्पाले २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर यसअघि अष्ट्रेलियामा भएको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन्।
‘पर्यटन र जनवायू परिर्वतनका असर’ विषयमा विश्वकै लामो रेडियो अन्तरवार्ता गएको कात्तिक २२ गते सोमबार विहान ७:३५ बजे सुरु भई कात्तिक २३ गते मङ्गलबार बिहान ९ः०१ बजेसम्म लगातार २५ घण्टा २६ मिनेट सोलुखुम्बुमा सञ्चालित हिमाल एफ.एमको शाखा स्टुडियो काठमाण्डौमा आयोजना गरिएको थियो।
निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले सोमबार मान्यता दिएको छ । अधिकारिक मान्यता पाएपछि किर्तिमानी पत्रकार निरौलाले यो किर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्व राख्ने भन्दै देशकै लागि एउटा किर्तिमान थप्न सकेकोमा गौरव महशुस भएको बताए।
आफ्नो पेसाको क्षेत्रबाट देशको नाम राख्न पाउँदा खुशी लागेको उनको भनाइ छ । पर्यटन विद् आङ फिन्जो शेर्पाले आफ्नो कोशिसले सार्थकता पाएकोमा खुसी व्यक्त गरे।
विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत महत्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा ‘पर्यटन र जलवायू परिर्वतनको असर’ विषयमा विश्वकै लामो अन्तरवार्ताबाट मार्फत पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायू परिर्वतनको न्यूनीकरणमा विश्वको ध्यानआकर्षित गर्ने उद्देश्यले उक्त अन्तरवार्ताको आयोजना गरिएको शेर्पाको भनाइ छ।
यसअघि विश्वको लामो रेडियो अन्तर्वार्ता सन् २०११ मा अष्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेल विज्ञ पिटर फिट्ज्मिन्स्सँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समय सम्म लिइएको रेकर्ड थियो।
सोलुखुम्बुका पत्रकार निरौलासँग पुर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह पूरा गरी रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरेको अनुभव छ भने पर्यटनविद् शेर्पाले पर्यटन र वातावरण संरक्षण विषयमा सामाजिक क्षेत्रमा लामो समयको कार्य अनुभव रहेको छ।






















