पर्यटन मन्त्री आले सवार गाडी दुर्घटना


बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुन धनगढी जाने क्रममा मन्त्री आले सवार गाडी दुर्घटनामा परेको हो ।
उनी सवार सु.प. प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन् । धनगढी विमानस्थलबाट ६ लेनको मेन रोड क्रस गर्ने क्रममा आलेको गाडीलाई अर्को गाडीले हानेको हो ।
अर्को गाडीलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आले सवार गाडीलाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडी क्षतिग्रस्त भए पनि मन्त्री आले भने सुरक्षित छन् । उक्त गाडी दुर्घटनामा परेपछि अर्को प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन् ।
ठक्कर लागेको गाडीमा सवार पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।






















