देश

पृथ्वीनारायण शाहको शालिकमा पूर्वराजा माल्यार्पण गर्न सिंहदरबारमा

जगत ठाडा मगर
२०७८ पुस २७ | मध्यान्ह ०२:०९ बजे

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका छन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए ।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

कमेन्टहरु