मुख्य समाचार

पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै नगरौं : बाबुराम भट्टराई

जगत ठाडा मगर
२०७८ पुस २७ | मध्यान्ह १२:०९ बजे

काठमाडौ ।पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने टिप्पणी गरेका छन ।

पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा भट्टराईले ट्वीटमार्फत यस्तो टिप्पणी गरेका हुन । शाह इतिहासको आवश्यकता र आकस्मिकताका उपज भएको भट्टराईको भनाई छ । उनले समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझ्नुपर्ने बताएका छन ।

गोरखाका सांसदसमेत रहेका भट्टराईले लेखेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं ! उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन् । कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पुँजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो !’

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औं जन्मजयन्ती मनाइएको हो । वि.सं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। वि.सं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए।

त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट विजय गरेका थियो। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका हुन्।

कमेन्टहरु