पृथ्वीनारायणको सामाजिक, आर्थिक एवं वैदेशिक नीति मननीय : राष्ट्रपति भण्डारी


काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीति आज पनि उत्तिकै मननीय रहेको बताएकी छन्। भण्डारीले पृथ्वीनारायण शाहको ३००औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै भण्डारीले पृथ्वीनारायणका दूरदर्शी विचारहरूलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुग्न विश्वास व्यक्त गरिन्।
उनको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित रहेको शुभकामना सन्देशमा उल्लेख छ। ‘देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहेको छ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित छ।’ जारी सन्देशमा भनिएको छ,‘नेपाल एकीकरणको अभीष्ट मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत तथा सम्पदाको उपयोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थन्तन्त्रसहितको सबल राष्ट्र निर्माण गर्नु नै थियो। नेपाल एकीकरणमार्फत् यहाँका मौलिक संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत तयार भएको थियो।’
राष्ट्रपति भण्डारीले वीर पुर्खाहरूको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हाम्रो रहेको उल्लेख गरिन्। जारी सन्देशमा भनिएको छ,‘यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु।’ अन्नपूर्ण पोष्टमा खबर छ ।






















