आज ३०० औं पृथ्वी जयन्ती, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै


काठमाडौं, पुस २७ । आज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ ।
सर्वसाधारणदेखि लिएर राजावादी संघ संस्थाहरुले शालिकमा माल्यार्पर्णको कार्यक्रम राखेका छन् । आजै पूर्वराजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पण गर्न मध्याह्न १२:३० बजे सिंहदरबार जाने कार्यक्रम रहेको छ । विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।
तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ । शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गरिएको हो । तर आज सार्वजनिक विदा भने दिइएको छैन । यद्दपी केही स्थानीय तहहरुले बिदा दिएका छन् ।






















