देश

लिपुलेक क्षेत्रमा भारतले गरेको सडक विस्तारप्रति एकीकृत समाजवादीको आपत्ति

जगत ठाडा मगर
२०७८ पुस २६ | मध्यान्ह ०३:०९ बजे

२६ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भारतले नेपाली भूमि लिम्पियाधुरा-लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले एक विज्ञप्ति जारी गरी भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् ।

‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो ।’

एकीकृत समाजवादीले लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको कामलाई तत्काल रोक्न माग गरेको छ । त्यस्तै नेपाल सरकारलाई पनि नेपाली भूमि संरक्षणका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

कमेन्टहरु