प्रदेश २ सरकारले शहीद परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने


सप्तरी, २६ पुस । प्रदेश २ सरकराले मधेशमा विभिन्न समयमा आन्दोलनको क्रममा घाइते तथा शहादत प्राप्त गरेका शहीद परिवारहरुलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने निर्णय गरेको हो । मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
सोमबार नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले यो रकम प्रदान गरिने बताए । प्रदेश सरकारले मधेश आन्दोलनमा घाइते भएकाहरुलाई पनि रकम प्रदान गरिने मन्त्री साहको भनाइ छ ।
उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिए । यस पटक प्रदेश सरकारले सप्तरीमा बलिदानी दिवस मनाउदैछ ।






















