समाज

उज्वल थापा फाउन्डेसन स्थापना

जगत ठाडा मगर
२०७८ पुस २६ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहनुभएका युवा नेतृत्व स्व उज्वल थापाको स्मृतिमा उज्वल थापा फाउन्डेसन स्थापना गरिएको छ ।

नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्नु यस फाउण्डेसनको उद्देश्य रहेको छ । उज्वल थापाको गत जेठ १८ गते कोभिडका कारण निधन भएको थियो ।

फाउण्डेशनमार्फत नेतृत्व विकासमा सहजीकरण गर्ने; स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्‍याउने; सामाजिक अभियान सञ्चालन गर्ने, नागरिकको चेतना बढाउने, न्यायपूर्ण समाज र राष्ट्र निर्माण गर्ने; उद्यमशीलताको प्रवद्र्धन गर्ने; पर्यावरणीय हितका क्षेत्रमा काम गर्ने; शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधिलगायत अन्य क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको फाउण्डेशनका अध्यक्ष एरिका अधिकारीले जानकारी दिए ।

फाउन्डेसनको स्थापना गर्नु अगाडि उज्वलका परिवार, साथी तथा शुभेच्छुकहरूले उज्वलको उपचारका लागि विभिन्न देशबाट झण्डै तीन हजार जनाले प्रदान गरेको रकमबाट उपचार खर्च कटाएर बचेको रु ४२ लाखभन्दा बढी रकम विभिन्न सात वटा गैर सरकारी÷गैर नाफामूलक संस्थालाई वितरण गरिएको उनले बताए ।

सर्लाहीको भोर नेपाल; ललितपुरको हार्टबिट, कपिलवस्तुको मधेस ह्युमन राइट्स होम, काठमाडौंका नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन तथा राष्ट्रिय आविष्कार केन्द्र, कालीकोटको ‘ओदा फाउन्डेसन’ तथा वीरगञ्जको ‘सानो पाइला’ नामक संस्थालाई सो रकम प्रदान गरिएको पनि उनले जानकारी दिए । -रासस

कमेन्टहरु